कास्की पोखराका चिचिले सुन्तला चुस्दै दरौंखोलाबाट ढकालथोक हुँदै डहरे देबीको दर्शन अनि शंकरपोखरी,फलेवास हुँदै वाग्लुङ् जाने। उकालो चढ्दा सास बढेर फोक्सो फुल्लिने गरि स्यांस्यां र फ्यांफ्यां भएका थियौं। घामले नेटो काटिसकेकाे थियाे। पाखामा ओझेल परेर चिसो सिरेटो चल्न थाल्यो। बर्को निकालेर सपक्क सप्को हालें। वनका रुखका छेलबाट चियाउंदा पर अलिकति आकाश देखियो। अब त वनको बाटो सकिन लागेछ क्यारे भनेर सन्तोषजनक सास फेरें। साथीहरु पछिपछि पाइला गन्दै थिए। तल दरौंखोला सुसाउंदा पनि वनमा साथी भएको भान हुन्थ्यो।

वनमा चरा बास बस्ने बेला भैसकेको थियो। बाँसका झाङमा डाङ्ग्रे (सारौं)को चिरबिरले वन गुन्जायमान भयो। मन आत्तिरहेको थियो। बा ले त्यो वनतिर त बाघ लाउंच अरे,रातीआं झांक्री नि हिन्चन अरे। बाह्रबजे मध्यानीआं होस पुर्याएर हिन्नु नि वायुले छल्च भन्नुभाथ्यो बाबाकाे त्याे कुरा झस्क्क मनमा आयाे। मध्यानी त कट्यो बाटो लामो झमक्क सांझ पर्यो। अब एउटा खोल्सो कटेसी भक्किम्ले गाउँ आईपुग्छ। कतिबेला गाउँ पुगौं र बाँस मागेर लमतन्न पसारिउं जस्तो भाथ्यो। बाटो छोट्याइयो,बल्ल तल्ल एउटा घरमा पुगियो। ढुंगाको छानो घुमाउने घर पिंढीमा पराले गुन्द्री आंगनमा ढुंगाकै छपनी रातो माटोले लिपेको डिल आहा! कति प्यारो घर,घरको धुरीबाट धुवाँको मुस्लो निस्केको देखेपछि मन ढुक्क भयो मान्छे छन् भनेर पिंढीको गुन्द्री देखेपछि शरीर धान्नै नसकेर थचक्कै बसे साथीहरु।

मैले चिच्याएं घरमा को हुनुहुन्छ? बल्ल बल्ल आवाज आयो को हो? म छु भनेर। पित्र परेकि बुढी आमा कुप्रि परेर निस्कनुभयो। आजलाई बाँस पाइन्छ कि भनेर आमा मैले भने
हामी तल दरमखोलाबाट आका हुम,डहरले देउराली दर्शन गरिवरी फलेवास हुँदै बाउलुम सअन् पुउनी भनेर हिनेका बाटैमा रात परो आजलाई बाँस दिनुस्न त आमा मैले आफ्ना कुरा एकै सासमा भनेर सकें।

ए फांटतिरट आका रचौ म एक्ली बुढिमुन्छे बाँस त दिम्ला खान्की पकाम्न सौतिन के खान्चौ? तिमरु आफै पकाम्न सौचौ भनी पकाओ सांझका पाउना देउतासरि भन्चन् बास त दिन्चु बोरू पकाम्नी चावल छैन। चिसो सिरेटो खांदै हुत्तिएर आका रचौ। आमैले पनि आफ्ना समस्या सहजै राखिदिनु भो।

हाम्लाई यसो पसारिनी ठाम भा हुन्च आमा पकाउन चामल त हामीसितै छ हामी पकाउछम् भनेर चुल्हातिर लाग्यौं। तिहुन के पकाम्चौ बाबु? आमाले सोधनु भो अनि आफैंले पांचवटा अौलाले च्यापेर कालो हांडिबाट गुन्द्रुक निकाल्दै लौबा यै गुन्द्रुक छ यै पकाओ। अलि अस्ती काउरे ठुलीकान्छीले साउको गुन्द्रुक पार्दिइत्ती।

भात र गुन्द्रुकको झोल पाकेपछि आमैलाई पनि खान दियौं।ओहो! आर्काले पकार देको खान त अौधि मीठो हुनीरान् भन्दै मीठो मुखले खानुभयो। हाम्लाई पनि अौधि मिठो लाग्यो।अब सुत्ने तरखर गर्नुपरो आमा भोलि बिहान सखारै भालेको डांकामा हिड्नु छ। डहरे देउराली दर्शन गरेर उभो लाग्नुपर्छ ।

दुइटा थाङ्ना निकालेर मसंअ यत्ति रान् ओड्नी ओछ्याम्नी एउडो ओड एउडो ओछ्याओ थाङ्नाको एउटा कुनाबाट पसेर अर्कोबाट निस्न तिनदिन लाग्नेजस्तो भुत्ते थियो। तर पनि नाई भन्न सकिएन किनकि श्रद्धाले दिनु भाथ्यो। अंगेनामा आगो ठोस्दै मुलाई ता ओहोरै जाडो लाम्च यै चुलाछेउतिर पल्टिन्चु भनेर अंगेनाकै छेउमा गुटुमुटु पल्टिनु भयो। मेरो मनमा भने चैन थियन। हेर यी बुढिमान्छेको यस्तो दशा! छोराछोरी कता होलान्? के गर्छन् होला? एक्ली बुढी बिरामी परे कसले हेर्नेहोला? मन तरंगित भयो खुलदुली लाग्यो। बोल्न सकिन।उकुसमुकुस हुँदै सुतें।

रातभरी उडुसले चुटु चुटुु कोट्याएर निद्रादेवीलाई पनि डहरे देउराली तिरै पठाइदियो। भाले बास्यो,उजेलो भओ केरे भन्दै आकै उठ्नुभो,ख्वाङ ख्वाङ कांस्दै ढोका खोलेर पानी बोक्ने गाग्री र डोको दैलाठेलामुनि उभ्याउनु भयो। म जुरुक्क उठें।आमैले चुल्हामा घसेटा हालेर सलाई कोर्नुभयो। आगो दन्क्यो।मन्दिर जानी भनिच्चौ के ख्वार पठाम डहरे त भोकै पूजा अर्न पर्च भन्चन् भन्नू भो। साथिहरु सबै उठेर तयार भयपछि चिया खाने मन भयो अनि आमा चिया पकाउनुहुन्छ? भनेर सोधेको -बुडा डिग्बोई हुंदा खाईत्ते केरे अनि त खाकी छैन भनेर आँखा रसिला बनाउनु भयो। साथीले हतपत ब्यागबाट चिनी र चियापत्ति दिनुभयो। आमाले कालो न कालो केत्लीमा चिया पकाएर गिलास र डबकामा हालेर दिनुभो। खै मीठो त के भओ होला र त्यै भित्र भको मसला खुर्सानी त हालित्तें केरे।

सुरुप्प के पारेकी थिएं सर्को पर्यो बेसरी पिरो पनि भयछ। अनि त एकछिन कजाले हांस्यौ। फेरि साथीले आमालाई चिया पकाएर खुवाएर बिदा माग्यौ। धमिला आँखा रसिला थिए।एकरातमै खै कुन्नी कस्तो आत्मियता भयछ छोडेर हिड्दा नरमाईलो महसुस भयो।

डहरे देउरालीको डांडा पहिले पर्वत जिल्लामा पर्दोरहेछ पछि सिमाना मिलाउदा स्याङ्जा पट्टि परेको रहेछ। ठाडो उकालो बिहानको चिसो बतास ओठमुख सुकाउंदै पुगियो मन्दिरमा।पुजारीसंग धेरै जानकारी लियौं। डहरेको डांडालाई निलकण्ठ माउन्टेन पनि भन्दा रहेछन्। यस क्षेत्रलाई नन्दकण्ठ पहाड भनिन्छ जुन स्कन्दपुराणमा पनि उल्लेख छ। यो ठाउँ समुद्री सतह देखि २२५१ मिटर उचाईमा अवस्थित रहेछ। यहाँबाट सजिलै माछापुच्छ्रे ,अन्नपूर्ण र धवलागिरी जस्ता गिरीहरुको मनोरम दृश्यका साथै पोखरा पनि दृश्यावलोकन गर्न पाईदो रहेछ। यहाँ जानका लागि कार्कीनेटा,आरुचौर,खुमा गाउंँबाट पैदलयात्राका लागि उत्तम मार्ग मानिने रहेछ। आँधीखोला उताकालीगण्डकी,फांटहरु हिमश्रृंखलाहरुको मनोरम दृश्यले सबै थकान दुर भयो। यता स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका उता पर्वतको फलेवास नगरपालिकाको संगमको रुपमा टाकुरामा अवस्थित देउराली मातासंग आशिर्वाद मागेर आफ्नो गन्तव्य तिर लाग्यौं।

फेरि देउरालीबाट गुराँस फुलेको हेर्ने रहर बोकेर पाईला अगाडि बढायौं। त्यहा पुग्दा गुराँसले वन रातै देखियाे मन लाेभ्याउने प्राकृतिक दृश्यमा सबै थकान त्यहि बिसायौं। अनेक कुरा मनमा खेलाए गाउँकाे बसाइँ सबै चिज अर्गानिक खाना,चिसाे हावा,कुवाकाे चिसाेपानी, थाेरै केही स्वास्थ्यमा सामान्य समस्या आए प्रशस्त जडिबुटी यस्तै नानाथरी कुराकाे अनुभव मनभरि बाेकेर फर्किने निधाे गरेयौं।
अन्तमा ती बुढि आमाकाे अझ सयौ वर्ष थपियोस।
डहरे देउराली माताले सबै रक्षा गगरुन

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार