मेरा कान पाकेका छन् आजकल
मेरा आँखा टट्टाएका छन् आजकल
मलाई दिक्क लाग्छ आजकल
जब म हिंसा विरुद्धका नारा सुन्छु
जब ब्यानर सहितका र्याली देख्छु
अनि चिच्याउदै नारा लगाएका उनै
निर्मला,सम्झना,रुबिना,गुलाबलाई देख्छु।
मलाई लाजले भुतुक्कै पार्छ
शरीर भरी काउकुती लाग्छ
मेरा चक्षुमा शरमका किरा सलबलाउन थाल्छन्
चक्षुको गुदगुदिले आशु
आउने गरि हांस्छु
जब ब्यानरमा लेखिएको नारा देख्छु
महिला हिंसा बन्द गर
हाम्रो अभियान जारी छ
महिला बलात्कारीलाई फांसीदे
दाइजो प्रथा बन्द गर
अपराधीलाई कारवाहि गर
ब्यानरका यी मिठा शब्दले
मलाई खटाई नसक्नु
जिस्क्याउंछन्,बिल्याउंछन्
जब अपराधीलाई तन्ना ओढाई ओढाई
बचाउने समाजसेवीले घोक्रो फुलाउंदै
उफ्रेर तिनै शब्दले नारा लगाउंछन्।
आजकल मैले सुन्नै नसकेका
शब्दहरुले बारम्बार कान खोजल्छन्
दिवस दिवस दिवस
अभियान अभियान अभियान
अधिकार अधिकार अधिकार
आखिर दिवस मनाउने
डिप्लोम्याटिक लजका कोठाबाट
निस्केर ती आवाज मेरो
अनकन्टारको गाउंमा कैले पुग्छ?
माइतीघर मण्डलाको आन्दोलनले
रुबिनाले न्याय पाउछिन् त ?
उसो भा निर्मलाको हत्यारा खोई ?
भयो अब यी ब्यानरका पछाडि
नारा लाउन म जान्न
मलाई ती शब्दले अचाक्ली गिज्याउंछ।
आमाले बोकेका ब्यानर
फुपुकाकीले उठाएका प्लेकार्ड
मुन्तिर दिदिले लगाएको नारासंगै
गुलाव ,सम्झनाका आवाज
नै विलय पो भए।
त्यसैले म आन्दोलनमा जान्न।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार