मंसिर ८ झापा – जिल्लाकाे नेपाल भारत सीमा क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका –२ दरियालबस्ती नजिकै कनकाई माईको किनारमा रहेको १९ नम्बर सीमास्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको छ। स्थानीयले भारतीय एसएसबीले भत्काएको अवस्थामा सीमास्तम्भ फेला पारिएको जानकारी दिएका छन्‌।

केही दिनदेखि सो क्षेत्रमा चहलपहल बढाइरहेको एसएसबीको टोलीले नेपाली भूमिमा प्रवेश गरी कसैलाई जानकारी नदिई पटक-पटक अनुगमनका नाममा आएर फर्किने गरिरहेकाे पनि बताइएको छ। आइतबार भने १३/१४ जनाको समूहमा आएको एसएसबीले १९ नम्बरको पिलर भत्काएर काँसले छोपेर गएको स्थानीय बताउँछन् । ​हातहतियारसहित प्रवेश गरेर सीमास्तम्भ भत्काइ फर्किएको स्थानीयकाे दाबि छ।

सीमा अतिक्रमणका लागि १४३ अन्तर्गत ३ नम्बरको पिलरदेखि नेपालतर्फ नयाँ खाल्डो समेत खनेको अवस्थामा फेला परेको छ। पिलर सार्नकै लागि नयाँ खाल्डो खनिएको स्थानीयको दाबी छ। गत वर्ष गौरीगञ्जको पिण्डालभुटुस्थित बुद्धिलाल हेमरमको आँगनमा आएर एसएसबीले सीमा स्तम्भ गाडेका थिए। त्यसैको एक वर्षपछि फेरि एसएसबीले स्तम्भ सार्न चहलपहल बढाएको अनुमान स्थानीयकाे छ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार सीमा स्तम्भ भत्किएको छ। घटना थाहा पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणकाे टोली घटनास्थल पुगेको थियो। फेरि त्यहि बेला भारतीय एसएसबीकाे टाेलि पनि घटनास्थल आइपुगेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताए । तर कसले भत्काएकाे हाे भन्ने विषयमा दुवै टाेलिले केही नखुलाएकाे पाण्डेले बताए।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार