कात्तिक २५ प्युठान – जिल्लाकाे माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढिकावनकी १३ वर्षिय घाईते बालिका कृष्णा घर्तीमगरलाई उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको छ । आर्थिक अभावले उपचार रोकिएको कृष्णाको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरको विशेष पहलमा आर्थिक संकलन गरी उपचारका लागि अस्पतालमा पठाईएको हो ।

गत असार ५ गते जंगलमा आमासँग घाँस काट्न गएको बेला कृष्णा भिरबाट लडेर घाईते हुनुभएको थियो । दुर्घटनापछि उपचारका लागि भैरहवा पुर्‍याए पनि आर्थिक अभावले परिवारले बालिकालाई पूरा उपचार नगरर घरमा ल्याएर राख्न बाध्य भएका थिए । बालिका घाइते भएको समयमा तत्काल करिब ४० हजार जति जुटाएर उपचारका लागि गएका परिवारले १५ दिनसम्म उपचारका लागि कृष्णालाई अस्पतालमा राखे । त्यतिन्जेल करिब ५ लाख रुपियाँ सकिएकाे पारिवारिक स्राेत बताउछ।

डाक्टरले बालिकाको मेरुदण्ड सहित शरिरको प्राय हड्डी भाँचिएको बताए । अझै बच्चालाई अस्पतालमै राख्नुपर्ने र थप उपचार आवश्यक पर्ने सल्लाह अस्पतालका डाक्टरले दिएका थिए। तर परिवारले १५ दिनमा ५ लाख खर्च पुगिसकेको र थप उपचार गराउन आर्थिकले नभ्याउने भन्दै कृष्णालाई घरमा ल्याउने निर्णय गरे । १७ दिनको दिन बच्चालाई घरमा ल्याइयो । घरमा सुताएर राखिराख्दा शरिरका विभिन्न ठाउँमा घाउ भएर बालिकाको अवस्था थप जोखिम समेत बढेको थियो ।

अहिले वडा अध्यक्षकाे सहयाेग पाएपछि घर्ती परिवारलाई केही राहत मिलेकाे छ। अब वडा अध्यक्षले नै सहयाेगकाे लागि पहल गर्ने आश्वासन दिएर अस्पताल पठाए पछि बालिकाको स्वास्थ्यमा केही सुधार आउने र आर्थिक सहयाेग पनि कतैबाट आउँछ कि भन्ने आशामा रहेकाे पारिवारिक स्राेत बताउछ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार