कार्तिक १९ प्युठान – जिल्लामा अवस्थित जिवराज आश्रित र कृष्णसेन ईच्छुक मार्ग अन्तर्गत दाखाक्वाडी देखि सोत्रे सडकमा कालोपत्रेको कार्य सुरु भएको छ ।

प्युठान नगरपालिका वडा नं २ को आयोजनामा मङगलबार वडा कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयहरुको आम भेला गरि निर्माण कम्पनीलाई काम सुरु गर्न अनुमति दिईएको हो । वडा नम्बर २ दाखाक्वाडी देखि सोत्रेसम्म जाने ५ किलोमीटर सडकखण्ड कालोपत्रे हुनेछ ।

चालु आर्थिक वर्षको सुरुमा नै कार्य सूरु गर्ने गरि सम्झौता गरिएपनि कोभिड १९ को कारण प्रभावित बनेकाले केही समयपछी काम सुरु गर्न लागिएको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनु भएको छ ।

लुम्विनी प्रदेश सरकारबाट यो सडकमा कालोपत्रेका लागि करिब १६ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । गौरा–बंगलामुखी जेभिले दुई वर्ष भित्र सक्ने गरि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि नारायण ज्ञवालीले बताए । आजदेखि नै कामको सुरुवात गरिएको समेत उनले बताए । सडक नाली सहित १० मिटरको हुनेछ ।

प्रदेश स्तर आयोजना भएकाले गुणस्तरीय सडक निर्माण गर्न निर्माण व्यवसायीलाई नगरप्रमुख कक्षपतिले आग्रह गरे । २०२८ सालमा सडक खुलेपनि यो सडक हालसम्म कच्ची नै थियो । जिवराज आश्रित र कृष्णसेन ईच्छुक मार्ग अन्तर्गत यो सडक पाल्पाको रामपुरदेखी सल्यानको कपुरकोट सम्म फैलने छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार