कात्तिक ५ काठमाडौ – काेरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन नसक्दा परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठ लगत्तै मंसिर ९ गते देखि १६ गतेसम्म शनिबार समेत परीक्षा सञ्चालन गर्ने कार्यविधि स्वीकृति र समयतालिका सार्वजनिक गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म हुनेछ ।

बाेर्डका सदस्य सचिव अर्यालका अनुसार कार्यविधि बमोजिम प्रत्येक विषयको सैद्धान्तिक तर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ । प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहनेछ । विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाउनुपर्नेछ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने छ ।

बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर ७७ वटै जिल्लामा पठाइसकेको थियो । अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइनेछ । प्रश्नपत्र छपाउन ढिलाइ भए अनलाइनमार्फत पठाउने कार्यविधिमा उल्लेख छ ।

विद्यार्थीको हाजिरी, विद्यालयले सञ्चालन गरेको परीक्षा, गृहकार्य, अतिरिक्त क्रियाकलापका आधारमा आन्तरिक मूल्यांकन गरिनेछ । बोर्डले परम्परागत विधिबाटै ठाउँअनुसार चरणचरणमा, कक्षा ११ को प्राप्तांकसहित कक्षा १२ को पनि मूल्यांकन सहितको परीक्षा र अनलाइन लगायत वैकल्पिक माध्यमबाट संक्षिप्त अनलाइन परीक्षा लिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमध्ये बोर्डले छोटो परीक्षा सञ्चालन गर्ने, कक्षा ११ को विषयगत प्राप्तांक र विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षामा प्राप्त गरेको अंकको आधारमा परीक्षा सम्पन्न गर्न लागिएको हो । परीक्षा सकिएपछि बोर्डले नै नतिजा प्रकाशन र प्रमाणीकरण गर्नेछ ।

मन्त्रिपरिषद्ले कक्षा १२ को परीक्षा सञ्चालन गर्न स्वीकृति दिए संगै शिक्षा मन्त्रालयले कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएकाे थियाे। परीक्षा सञ्चालनको कार्यविधि सहित दसैंअघि नै समयतालिका प्रकाशन गर्ने तयारीमा बाेर्डले काम गरिरहेकाे बताएको छ। छठ पर्व मंसिर ५ गते परेको छ । दुई साताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो ।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार