असाेज ३० काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए । त्यहि आधारमा खाेजिकार्य गर्ने क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियाे ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने प्यूठानको झिम्रुक गाउँपालिका–७ का १९ वर्षिय नवीन बस्नेतलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए ।

बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ । उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका प्रवक्ता प्रहरी उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार