राष्ट्रपति आमा
मेरो बिन्तिपत्र दर्ता गर्ने शाखा कता छ?
म माथि भयका अत्याचारका बुंदाले
एक रिम कागजका पाना भरिय।
दिनहुुँ निवेदन लेख्छु
विन्तीपत्र लेख्छु
बिन्तिपत्र कोखिलामा च्यापेर
अड्डाअदालत धाउंछु
कसैले मेरो बिन्तिपत्र दर्तै गरेनन्।

राष्ट्रपति आमा
मेरो निवेदन यो छ कि
म र म जस्तै योनी बोकेका छोरीहरु
हजुर जस्तै सुरक्षित बांच्न पाउँ
खुला हावामा स्वच्छ सास लिन पाउँ।
राष्ट्पति आमा

बाहिर निस्कंदा गिद्धे नजर लाउदै
दाउ हेरेर बसेको राक्षसले
कैले उखुबारीमा त कैले बांसको झाङ्मा
कैले मन्दिर भित्र त कैले पातीको झाडीमा
मेरो अस्मिता लुटिरह्यो
दण्डसजायका लागि गुहार मागें
बिन्तिपत्र लेखें तर
घरको आँगनमा पन्च बसेर
मेरो अस्मिताको मूल्य गर्दै रहे
अखा बांधेकी आमाले तराजु उचालिन्
मेरो अस्मिताको पल्ला माथि गयो।
मेरो बिन्तीपत्र बदर भयो।
राष्ट्रपति आमा

बाहिर नजर डुलाउंछ
घरभित्र हेर्छ अनि चकलेट थमाईदिन्छ
सट्टामा मेरो योनी च्यातिदिन्छ
फेरि मेरो गला दबाउंछ
बल्लबल्ल फुत्किन्छु
अनि बिन्तिपत्र लेख्छु
प्ररहरी  अंकलले सोध्नुहुन्छ
किन छोटा लुगा लाएकी त?
उसले तंलाई माया गरेको बुझिनस्?
अनि कसरी लुट्यो तंलाई
यसरी भन्दै मेरो बदन छुन्छ
अनि मेरो बिन्तिपत्र बदर हुन्छ।
राष्ट्रपति आमा

मेरो आफन्त बनेर आयो
मेरो हात समायो काखमा राख्यो
एक्लो पार्यो झाडीमा लग्यो
मलाई चिथोर्यो कोपर्यो
मेरो बालापनमा आगो लायो
मेरो गरिबीसंग आफ्नो वासना साट्यो
बिन्तीपत्र लेखें
गाउंँले र पुलिसको रोहबरमा
समाजका ठालुहरुले च्यादरले ढाकेर
सुरक्षित ससम्मान घर पुर्याए
मेरो बिन्तिपत्र बदर भयो।
राष्ट्रपति आमा

अब मेरो बिन्तिपत्र दर्ता गर्ने
अफिस कहाँ छ मलाई देखाईदिनु
मेरो बिन्तिपत्रमा बहस हुने अदालत
निर्माण गरिदिनुस्।

नत्र
राष्ट्रपति आमा
छोरी नजन्माउने अध्यादेश
पारित गरिदिनुस्
समाजको गिद्धेनजरबाट बाँच्ने
एउटा असल समाजको नार्माण गरिदिनुस्
राष्ट्रपति आमा
मेरो बिन्तिपत्र बुझाउने अफिस खोलिदिनुस्।

लेखक देवि काफ्ले काठमाडौं निवासी हुन । हाल न्युजिल्यान्डलाई कर्मथलाे बनाएकी काफ्लेले प्रायःजसो यस्तै समाजलाई सन्देश दिने लेखमा तथा साहित्यक विधामा कलम चलाउछिन । अझ सामाजिक काममा हौसला र अन्याय अत्याचारकाे विरुद्धमा स्वतन्त्र आफ्नै साहित्यक कलमबाट दबाब दिन्छिन – सम्पादक

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार