महिला हिंसाका रुप अनेक छन्। लैंगिक,जातिय,वर्गिय अनि सामाजिक हिंसा। आजको शताब्दीमा पनि हिंसा बढ्दो छ तर न्याय पिडितको पहुंच भन्दा बाहिर छ। आखिर किन त??
समाजमा नारीलाई दुई प्रकारले हेरिन्छ।
१.पुरुषको समकक्षी
२.पुरुष भन्दा निम्न दर्जाको

पहिलो नजरले हेर्नेले नारी पुरुष समान हुन्। समान अधिकार प्राप्त हुनुपर्छ भन्ने तर्क गर्छन् भने दोस्रो नजरले हेर्नेले नारी पुरुष ब्याहित जात हुन्। पुरुषको अधीन भन्दा माथि जानू हुदैन ,नारी घरपरिवारको जिम्मेवारी सम्हाल्ने लोग्नेको सेवा गर्ने हो भनेर तर्क गर्छन्।

तर केही समय यता महिलाप्रति हामी सबैको सोच र दृष्टिकोणमा गजबको सकारात्मक परिवर्तन आएको छ। तर यसको मतलव यो होईन कि महिला र पुरुष बराबर समानतामा पुगेका छन्। केही मात्रामा मात्रै भयको सुधारात्मक भयको सोंच हो। समानताको यो लडाईं अझै लामो समय सम्म चल्नु पर्छ।

दुनियाको धेरै देशहरुमा आज पनि महिलाहरु आफ्नो हक र अधिकारका लागि लडिरहेका छन्। यस मध्ये हाम्रो देश नेपाल पनि एक हो।महिला अधिकारका लागि दश कदम अगाडि पुगेको दिन्छ तर हाम्रो देशका अधिकांश महिलाहरुलाई आफ्नो हक अधिकारको बिषयमा सहि ज्ञान नै छैन। आफ्नो हक अधिकारको बिषयमा पुर्ण जानकारी हुनुपर्नेमा केही अंश पनि थाहा छैन यस्तो अवस्थामा कसरी हिंसाको प्रतिकार गर्न सक्छन् ?

हो अहिले देशका कतिपय उच्च तहमा केही महिलाहरु पुगेका छन् भने केहिलाई पुर्‍याएकाे छ। उनै उच्च तहमा पुगेका केही प्रतिशत महिलाहरुलाई हेरेर यहाँ अधिकार प्रत्याभूत भयको परिभाषा गरिन्छ। भौगोलिक परिवेश,परम्परागत प्रचलन,अशिक्षा,गरिबी का कारण ती अवसर नपाएका महिलालाई पनि अधिकार पायर अधिकारको प्रयोग गर्न नजानेका वा बढि अधिकार पायर सम्हाल्न नसकेका भनेर आक्षेप पनि लगाउंछन्।

समाजमा अनेक थरी महिला हिंसाका घटना हुन्छन् र तिनको प्रतिकार गर्न महिलाले सक्दैन। नसक्नुको एउटा मुख्य कारण हो आफ्नो अधिकारको बिषयमा जानकारी नहुनु । अर्को कारण हो समाजमा महिलालाई ईज्जतको ठेकेदार बनाईन र अर्को मुख्य कारण यहाँ पिडितले न्याय पाउन ढिलासुस्ती र कानूनी प्रक्रिया ।

हाम्रो देशका अधिकांश महिला अशिक्षित छन्। सरकारले प्रौढ शिक्षाको माध्यामबाट महिला साक्षरताको प्रतिशत बढाएता पनि सहज पुस्तक पढ्न सक्ने महिला ग्रामिण तथा बिकट भुगोलमा धेरै छन्। जसले हस्ताक्षर गर्न जानेता पनि पढ्न र अर्थ बुझ्न सक्दैनन् र उनिहरुलाई दैनिकी गुजारा चलाउने जिम्मेवारी भयकोले पढ्न भ्याउदैनन्। अझ संविधानका किताब पढ्नु बुझ्नु त धेरै परको कुरा हो। अनि उनिहरु आफ्नो अधिकारको प्रयोग गर्न सक्दैनन्।

हाम्रो समाजमा महिला र पुरुषसंग सम्बन्धित घटना घट्नासाथ ईज्जतको टीका थोपरिन्छ महिलाको निधारमा। महिलालाई बलात्कार ,बलात्कारको प्रयास,घरेलु हिंसा,सामाजिक हिंसा जुनसुकै हिंसामा पनि इज्जत गुम्ने डर र समाजले हेर्ने फरक दृष्टिकोणका कारण खुलेर न्याय माग्न कठिन छ।

यदि पिडित महिलाले न्यायको लागि कानुन या पुलिसको दैलामा पुग्छन भने उनलाई अझ बढि बेईज्जत र पटकपटक थप हिंसा गरिन्छ। अर्थात त्यहाँ सबुत प्रमाण भन्दै पिडित महिलासंग पटकपटक शाब्दि हिंसा गरिन्छ। बलात्कार भयको महिला छिन् भने प्रहरीलाई जवाफ दिनु पर्छ कि कहाँ ,कतिबेला,कसरी,किन,कतिजनाबाट,कुन अवस्थामा अनि बिरोध किन गरिनस् ????? अब यी प्रश्नको जवाफ दिंदा दिंदा महिला अर्को पल्ट त्यहि बलात्कार भैसकेकी हुन्छिन्। अनि अपराध पुष्टि भैहाल्यो भने पनि पिडकसंग पैसाको कारोबार गरि न्याय निष्पक्ष हुदैन त्यसैले पनि महिलाहरु हिंसा भय पनि सहेर बस्ने तर झमेला नबेहोर्ने तिर लाग्छन्। अनि हिंसा घट्नुको सट्टा बढ्दै जान्छ।

कमसेकम पनि हरेक महिलालाई महिलाका मौलिक हक अधिकारको बिषयमा जानकारी हुनुपर्छ। आजको समयमा जो हिंसामा परेको हुन्छ उसलाई कानूनी उपचार लिन सहज होस्।
महिलाको हक धारा ३८ मा उल्लेख छ भनेर परिभाषित गरेको कुरा या संविधानकाे कुन धारा,कति दफामा उल्लेख छ भन्ने कुरासम्मको जानकारी भय पनि हरेक गाउंका हरेक महिलालाई कानूनी उपचार लिन कठिनाई कम हुन्थ्यो कि ?

यसका लागि स्थानीय निकायको भूमिका अहम् रहन्छ। सबै हिंसा पिडित महिलाले न्याय पाउनका लागि गाउँ गाउंमा जनचेतना जगाउनु जरुरी छ। आज पनि महिला समाज,जात,लिंगका आधारमा हिंसामा जलिरहेका छन्। हिंसा पिडितलाई न्यायको लागि महिलालाई आफ्नो मौलिक अधिकारको बिषयमा जानकारी हुनु आजको आवश्यकता हो।

लेखक देवि काफ्ले काठमाडौं निवासी हुन । हाल न्युजिल्यान्डलाई कर्मथलाे बनाएकी काफ्लेले प्रायःजसो यस्तै समाजलाई सन्देश दिने लेखमा कलम चलाउछिन । अझ सामाजिक काममा हौसला र अन्याय अत्याचारकाे विरुद्धमा स्वतन्त्र आफ्नै साहित्यक कलमबाट दबाब दिन्छिन-सम्पादक

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार