असाेज २० काठमाडौ – नेपालमा थप १,५५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये १,०१७ जना काठमाडौ उपत्यकाका तीन जिल्लाका हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २,३४० जना रोगमुक्त भएका छन।

नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९०,८०० नाघेको छ। यससँगै नेपालले सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई उछिन्दै अतिप्रभावित देशको सूचीमा ४४औँ स्थानमा पुगेको छ। जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार मङ्गलवार अपराह्णसम्म चीनमा सङ्क्रमितको कुल सङ्ख्या ९०,६६० थियो।

विगत २४ घण्टामा नौ जनाको कोभिड-१९ बाट मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा अहिलेसम्म ५६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। निको हुने सङ्क्रमितको सङ्ख्या ६७,५०० बढी छ। नेपालमा गत भदौ २४  गते देखि यता प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार