असाेज १८ हुम्ला – हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई परपुरुषसँग लागेको आरोपमा उनका श्रीमान्‌सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ सम्म प्रहरी घटनास्थल नपुगन्जेज दुर्व्यवहार गरिएको र दिसा समेत खुवाएर कपाल खौरनुका साथै कालो मोसो दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको पाइएको छ।

घटना भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी टाेली घटनास्थल पुगेर दुर्व्यवहारमा परेका व्यक्तिको उद्धार गरेको र घटनामा संलग्न पिडित महिलाका श्रीमान सहित सात जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शी के भन्छन ?

घटनाका प्रत्यक्षदर्शी तथा सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्य समेत रहेका विनोद विकले कपाल खौरेर कुटपिट भएको तर दिसा भने नखुवाएको बताएका छन्।

उनले पीडित महिलाका श्रीमान्‌ले रिसको आवेगमा आएर आफ्नी श्रीमती र उनीसँग सम्बन्ध भएका व्यक्तिलाई कुटपिट गरेर गाउँ निकाला गरिएको बताए। उनीहरूको झगडाले ठूलो रूप लिन सक्छ भन्ने डरले प्रहरीलाई आफैले खबर गरेको र पीडित महिलाका छोरा छोरीलाई हजुरआमाको साथमा राखिएको पनि उनले बताए। पीडित पक्षका परिवारले ती महिलालाई अब बुहारीको रुपमा स्वीकार गर्न नसक्ने बताएकाे छ।

दुर्व्यवहारमा परेकी महिलाकाे बयान

आफ्नै देवर नाता पर्नेसँग टेलिफोनमा कुराकानी गर्दा उसैसँग लागेको र शारीरिक सम्बन्ध राखेको भनेर जिन्दगीभर सँगै जीवन बिताउने कसम खाएका आफ्नै श्रीमान् समेत लागेर कुटपीट गरे। शुक्रवार दिउसो गाउँका सबै मान्छेहरू एकै ठाउँ जम्मा भएर दिसा कोचाए। कपाल खौरिदिए। कालो मोसो दले। जुत्ताको माला लगाएर गाउँ निकाला गरिदिए। मेरा एक छोरा र एक छोरी छन्। छोरी दुई वर्षकी छ। उसलाई तीन दिनदेखि दूध समेत खुवाउन पाएकी छैन। गाउँ निकाला गरेको हुनाले गाउँमा पनि जान सकेकी छैन। प्रहरीको संरक्षणमा रहेकाले अहिले थप कुटपिट होला भन्ने चिन्ता त छैन। तर त्यसरी गाउँका सबै मानिसहरू लागेर अपहेलना र गाली बेइज्जत गरेकाले अब गाउँ कसरी जाने भन्ने सोचेर पीडा भएको छ। उनी भन्छिन ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार