भाद्र १९ धादिङ – जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए ।

कार्यालयकाे डिउटिमा खटिएका ती प्रहरीले पत्याएनन् । प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर देखाए । झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीको होस उड्यो ।
बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङ र २३ वर्षीय राजु परियारको बाटोमा जम्काभेट हुन्छ ।

राजु र सोमबहादुरकाे केही कुराकानी हुन्छ । राजु साेध्छन कता जान लाग्नुभयाे ? सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको । अनि राजु रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै साेमबहादुरकाे पछि लाग्न थाले । त्यसपछि दुईजनाकाे लडाइ सुरु भयाे । केही समय पछि युवक फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए । त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगे । घटनाकाे याेे रुप राजु आफैले प्रहरी समक्ष बयान गरे ।

युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । सामान्य विवाद हुँदा खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र पोस्टमार्टमका लागि शव धादिङवेशी ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक सरोज राईले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार