भाद्र १८ बाग्लुङ  – जिल्लाकाेे ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए ।

पहिरोले पुरेको बस्तीका २५ जना सम्पर्कविहीन रहेको र उनीरू पहिरोमै परेका हुन्/होइनन् भन्ने यकिन भइनसकेको उनले जानकारी दिए ।

बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ । एक विद्यालयको भवनमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार