भाद्र १३ बाँके – किशोरलाई अपहरण गरी फिरौती रकम मागेको अभियोगमा एक जना पक्राउ परेका छन्। बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१६ का ‘कल्लु’ भनिने कलिम खाँलाई पक्राउ गरेको हो।

किशोर अपहरण गर्ने कलिम खाँ पीडित इन्तजारको भिनाजु रहेका भएको डिएसपी सुवास खड्काले बताए। ‘इन्तजारको बुवाले जग्गा खरिद गर्न घरमा रकम जम्मा गरी राखेको थाहा पाएपछि कलिमले उक्त रकम पाउन सालो अपहरण गरी रकम मागेको खुलेको छ,’ उनले भने।

खाँले ९ भदौमा खजुरा गाउँपालिका–५ रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको सोही ठाउँका १३ वर्षीय इसहाक जाकिर भन्ने इन्तजार खाँलाई जयसपुरस्थित आफ्नो घरको कोठामा बन्धक बनाएको प्रहरीले जनाएको छ।

उनले बन्धक बनाएर राखेका इन्तजारको परिवारका सदस्यलाई फोन सम्पर्क गरी १० लाख रुपैयाँ फिरौती माग गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्त डिएसपी खड्काले जानकारी दिए।

अपहरणमा परेका इन्तजारलाई जानकी गाउँपालिका–५ स्थित पीडितको फुपूको घरमा छोडेको अवस्थामा उद्धार गरिएको उनले बताए। उनले अपहरणमा प्रयोग भएको भे४प २३४४ नम्बरको सुजुकी कम्पनी मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल पनि बरामद भएको जनाए।

पक्राउ परेका कलिमलाई मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरको दफा २१३ बमोजिम ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाखसम्म जरिवाना हुने दाबीसहित मुद्दा दर्ता गरिने डिएसपी खड्काले बताए।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार