भाद्र १२ दाङ – समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थालेपछि दाङमा आईतबार देखि पुनः लकडाउन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयले समुदाय स्तरमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

लकडाउन आगामी आईतबार राती १२ बजे देखि एक हप्ता सम्म लागु हुने छ । स्थानीय प्रशासनका अनुसार अत्यावश्यक बस्तु बोकेका सवारी साधन र अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरू लकडाउन अवधिभर चल्न पाउने छैनन् । यसैगरि अत्यावश्यक सेवा तथा बस्तु उत्पाादन र वितरण गर्ने उद्योग बाहेकका अन्य व्यवसाय सञ्चालनमा पनि रोक लगाईएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन् । यसैगरि कुनै पनि प्रकारका मेला महोत्सव, सम्मेलन तथा जुलुस लगायतका भिडभाड बढ्ने कुनै पनि कार्यक्रम गर्न रोक लगाईएको छ ।

जिल्लाका विभिन्न बैंकमा कार्यरत कर्मचारी तथा घरमै बसेका नागरिकहरूमा धमाधम कोरोना संक्रमण बढ्न थालेपछि यसको रोकथामका लागि कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन एकमात्रै विकल्प रहेको ठहर गरेको थियो । यसअघि जिल्लामा बेलुका साँझ ७ बजे देखि विहान ५ बजे सम्म आवतजावतमा रोक लगाईएको थियो भने यातायातका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागु गरिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार