भाद्र ९ बुटवल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई सीमानाकामा कडाइ गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका १२ वटै सिडिओसँग सोमबार एकीकृत भिडियो संवाद गरी कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयाससहित अन्य काम प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको समग्र अवस्थाको जानकारी गराएका थिए । मुख्यमन्त्रीले पनि क्वारेन्टिन र आइसोलेसन केन्द्र आवश्यकताअनुसार बनाउन, पिसिआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले लकडाउन र निषेधाज्ञा आवश्यकता र औचित्यको आधारमा मात्र गर्न र लकडाउन, निषेधाज्ञा पालनामा कडाइ गर्न पनि जोड दिएका थिए । यस्तै भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश दिन, होल्डिङ र क्वारेन्टिनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमानाकामा कडाइ गर्न निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले कोभिड– १९ ले सिर्जना गरेको मानवीय त्रासलाई न्यूनीकरण गर्न सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्ति सुरक्षाको प्रबन्ध गर्न आग्रह गरे । कार्यक्रममा उनले प्रमुख जिल्ला अधिकारीहरूले अहिलेसम्म गरेको कामको प्रशंसा पनि गरे । अब यसअघि भएका कामको समीक्षा गरी कमजोरी भएका ठाउँमा सुधार गरी अघि बढ्न निर्देशन दिए ।

अहिले सम्म १२ जिल्ला मध्ये ७ जिल्लामा निषेधाज्ञा 

समुदायमा कोरोना भाइरसको संक्रमण बढेसंगै बिभिन्न जिल्ला तथा पालिकाहरूले निषेधाज्ञा जारी गरेका छन । स्थानीय प्रशासनले संक्रमणको दर र अवस्था हेरी पुर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन । प्रदेशका बाह्र जिल्ला मध्ये ६ वटा जिल्ला भारतसंग जोडीएका छन्। लकडाउन खुलेपछि आन्तरिक चहलपहल सगै लुकिछिपि भारतीय कामदार नेपाल भित्रने र नेपालीहरू मल तथा सामान खरिदकालागि भारतीय बजार पुग्ने क्रम बढेपछि संक्रमितको संख्या ह्वात्तै बढ्यो । जसलाई रोक्न केही समय निषेधाज्ञा तथा लकडाउन गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।

प्रदेशका १२ जिल्ला मध्ये ७ वटामा निषेधाज्ञा जारी छ । एउटामा आँशिक निषेधाज्ञा छ । तीन वटा सामान्य अवस्थामै छन । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मीमा निषेधाज्ञा छ ।

रुपन्देहीमा भदौ १४ गते सम्म,कपिबस्तुमा १५ गते सम्म, नवलपरासीमा १० गते,प्युठानमा १५ गते,र्घाखाँचीमा १० गते र गुल्मीमा भदौ १२ गते सम्म निषेधाज्ञा छ । यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुनुका साथै हिडडुलमा रोक लगाइएको छ ।

भदौ ६ सम्म पुर्ण निषेधाज्ञा गरीएको बर्दियामा अहिले आंशिक छ । साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा रहेको र दिउँसोमा भिडभाड सभा समारोह जस्ता कार्यक्रममा रोक लगाइएको छ ।

बाँकेमा कोहलपुर नगरपालिकामा भदौ १० गते सम्मलाई निषेधाज्ञा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । समुदायमा संक्रमण फैलीएपछि बाँकेमा यसअघि १४ दिन निषेधाज्ञा गरीएको थियो । ‘फेरी संक्रमण बढे सम्बन्धित क्लष्टरलाई शिल गर्दै आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्नेछौ’ प्रजिअ कुरुम्वाङले भने । दाङमा रातीको समयमा आवतजावतमा रोक लगाइएको छ । रोल्पा र रुकुम भने सामान्य छन ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार