भाद्र १ काठमाडौ – नेकपाका दुई अध्यक्षको सहमतिमा पार्टीमा देखिएको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको वैधानिकतामा वरिष्ठ नेताहरूले प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी भएकाे छ ।

त्यसका लागि आज सोमबार सचिवालयको बैठक बाेलाइएकाे छ । कार्यदल गठन र त्यसले पाएको कार्यादेश अनुमोदनका लागि सचिवायल बैठक बाेलाइएकाे हो । सचिवालय सदस्यहरूलाई बैठक आज बिहान साढे नौ बजे बस्ने सूचना गरिएको छ ।

नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि चुलिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयाेजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा मात्र कार्यदल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले असन्तुष्टि जनाएका थिए । शनिबार प्रचण्डलाई भेटेर नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार