श्रावण ३२ धनुषा – धनुषाका थाहाखबरकर्मी सन्तोष यादवलाई कुटपिट गर्ने प्रहरीमाथि कारवाही गर्न आलटाल गरेको भन्दै जनकपुरमा युवाहरुले गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएका छन्।

जनकपुरको भानु चौकमा प्रदर्शन पश्चात युवाहरुले गृहमन्त्री थापाको तस्विर जलाएका हुन्। कुटपिटको तीन दिन बित्‍न लाग्दा पनि प्रशासनले दोषी प्रहरीलाई कारबाही नगरेपछि गृहमन्त्री थापाको तस्विर जलाइएको युवा पुजन सिंहले बताए।

उनले दोषी प्रहरीमाथि कारबाही नभए अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिए। गुण्डागर्दी बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, सिडिओ एसपी मुर्दावाद, गुण्डा प्रहरीमाथि कारबाही गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित युवाहरुले प्रदर्शन समेत गरे।

उनीहरु शनिवार पनि प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीमाथि कडा कारबाही माग माग गरेका थिए। जनकपुरस्थित नवजीवन अस्पतालको लापरबाहीले बिहीबार राति मृत्यु भएकी महिलाको शव शुक्रवार राति प्रहरीले बल प्रयोग गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो।

त्यही बेलाको तस्विर खिच्‍न लाग्दा थाहाखबरकर्मी सन्तोष यादव र टुडेखोज डटकमका पत्रकार सिबेन्द्र रोहितालाई प्रहरीले घेरा हालेर निमर्मतापूर्वक कुटपिट गरेको थियो।

उक्त घटनाको तीन दिन बित्‍न लाग्दा पनि दोषी प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गरेका छैन। एसपी रमेश बस्नेतले घटनाको छानविन गरिरहेको भन्दै दोषीमाथि कारबाही हुने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार