श्रावण ३२ काठमाडौ – आज आइतबार देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो (दिनमा) देशभर आंशिकदेखि समान्यसम्म मौसम बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तै सोमबार दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।राति भने देशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश ३, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले आइतबार बिहान जारी गरेकाे तीन दिनसम्मकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने धेरै स्थानमा हल्कादेखि मध्यम साथै गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

बाढीको जोखिम

जल तथा माैसम विज्ञान विभागले आइतबार मध्याह्न १२ बजे जारी गरेको सूचनाअनुासर महाकाली नदी, डडेलधुरास्थित पारिगाउँँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ भने बढ्दो क्रममा रहेकाले डडेलधुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भभइरहने होचा स्थानमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन आवश्यक छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब घटबढ हुने र सतर्कता तहभन्दा केही मात्र तल हुने सम्भावना छ ।

यस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत नदीमा पनि बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने अनुमान छ ।

मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औँल्याएको छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केही स्थानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार