श्रावण ३१ सल्यान – बलात्कार गरेको आरोपमा सल्यानकाेे शारदा नगरपालिका –८ सिमखर्क निवासी ३८ वर्षीय पुरुष पक्राउ परेका छन् । उनले भाउजु नाता पर्ने ४० वर्षीया महिलालाई झारफुकको बहानामा बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

लामो समयदेखि टाउको दुख्ने समस्या भएकी महिलाले काठमाडौं र धुलिखेलका अस्पतालमा गएर उपचार गरे पनि निको नभएको ती पुरुषलाई बताएकी थिइन् । यस्तो समस्या आफुले झारफुकबाट निको बनाइदिने भनेपछि ती महिला श्रीमानसहित २० साउन राती उनको घरमा गएकी थिइन् । घरमा ती पुरुषसँगै छोरा र श्रीमती पनि रहेको तर झारफुक गर्दा कोठामा कोही बस्न नहुने भन्दै सबैलाई बाहिर पठाएका थिए ।

बन्द कोठामा शिवपार्वती बन्नु पर्छ भन्दै महिलालाई पार्वती र आफु शिव भइ केही समय झारफुक गरेको र पछि भगवानलाई खुशी बनाउन भन्दै बलात्कार गरेको पीडित महिलाले बताइन् । पीडितको स्वास्थ्य सेवा कार्यालय सल्यानमा बिहीबार स्वास्थ्य परीक्षण गरेको प्रहरीले बताएको छ । आरोपिलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार