आजकल जीवनको फिराद सुन्ने कोहि छैन
जताततै सन्त्रास अनि शून्य आर्यघाट
नितान्त शून्य आर्यघाट अचेल यहाँ
मुर्दा जल्दैनन् श्रीखण्ड पुत्ताउंदैन
किनकी आजकल मृत्युको फिराद
सुन्ने अदालत खडा भएको छ यहाँ ।

मृत्युको फिराद बोकेका तहसिलदारहरु
ब्यस्त छन् लिखितम् गर्ने लेखनदास
नेपाली कागजका पाताभरी अौंठाछाप
ढ्यापढ्याप पार्न ब्यस्त छन् किनकी
आजकल मृत्युको फिराद सुन्ने
अदालत खडा भयको छ यहाँ ।

मुर्दाघाटमा भुतहरुको हालीमुहाली छ
नयाँ लाशहरु देख्नै दुर्लभ छ
नदिकिनारामा मुर्कट्टा कचहरी बस्छन्
खै आजकल मान्छे मर्दैनन् र?
अर्कोले ङिच्च दांत ङिच्च्याउंदै भन्छ
यमराजले छुट्टी मनाउदै होला
अर्कोले आँखा पिर्लिक्क पारेर भन्छ
आजकल त मान्छे यमराजले हैन
कोरोनाले लैजान्छ अरे ।

एकलास बनछेउमा डोजरले
पारेका डोबमा मुर्दार खन्याईन्छ
न टिलो न बुर्की न त बाटो अगाडि
न अबिर न फूलमाला न दागबत्ती
न त साथमा रुने आफन्त
न त लास घोच्ने बांसका घोचा
कस्तो आनन्दको मृत्यु दिने
त्यसैले त म भन्छु आजकल
मृत्युको फिराद सुन्ने अदालत
खडा भयको छ यहाँ ।

मृत्युको तजबिज ब्यावस्थापन गर्ने
लाश र घाटको समिकरण मिलाउने
मलामीलाई काट्टो अनि लाशको कात्रो
आफन्तका आशुको थिति मिलाउदै छ
त्यै कोरोनालाई किन स्वागत गर्दै छौ
ए मनुष्य ए मनुवा अझै किन डाक्दै छौ ??

देवि काफ्ले 

  1.      काठमाडौ , हाल न्युजिल्यान्ड 

 

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार