श्रावण २७ काठमाडौ  –  रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरिन्छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राख्छिन् । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किन्छिन् ।

त्यसपछि कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर जान्छिन् । बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् ।
चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् ।

महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ । ती महिलालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

आराेपित महिलालाई घटनास्थल पुर्‍याएर अनुसन्धान जारी 

काठमाडौँ — गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बतायो ।

कृष्णबहादुरकाे हत्या गरेर ति महिला कसरी चितवन पुगिन ?

गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ ।

अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आउँछन् । ती एम्बुलेन्स चालकलाई कल्पना ‘भिनाजु’ भनेर सम्बोधन गर्छिन् । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।
कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।
यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्नेबारे खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार