श्रावण १७ काठमाडौ – आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पूरा भयकाे छ । यसै वार्षिकउत्सवकाे अवसरमा  दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई दिएकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन् ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरिन् ।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकोमा प्रशंसा गरेकी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङकाे बधाई सन्देश 

चिनियां राष्ट्रपति सी चिनफिङले नेपालसंग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् । दुई देशबीचको ६५ औं वर्षगांठको अवसरमा चिनियां राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसंग बधाइ सन्देश साटासाट गर्दै सो कुरा बताएका हुन् ।

उनले चीनले नेपालसंगको सम्बन्धलाई अत्यधिक महत्व दिएको दावी समेत गरेको चिनियां समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसंग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले क द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्ने चाहना समेत व्यक्त गरेका छन् ।

चिनियां राष्ट्रपति सीले दुवै देशको सम्बन्ध मजबूत रहेको र दुवै देशका नागरिकहरुले अधिक लाभ लिन लिने र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार